काठमाडौं, बैशाख ४ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि शुक्रबार गरिएको कारबाहीबाट रु २१ लाख २८ हजार ५ सय राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार मात्र विभिन्न ट्राफिक उल्लंघनमा २५९७ सवारी साधनका चालक कारबाहीमा परेका हुन्।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन् भने सवारी साधनको अवस्था ठीक नभएका ६० जनामाथि कारबाही गरिएको छ। त्यसैगरी रेड लाइट उल्लंघन गर्ने १५९, तीव्र गतिमा सवारी चलाउने १२४, लेन अनुशासन उल्लंघन गर्ने १६५ जनामाथि कारबाही गरिएको जनाएको छ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५६, नो हर्न क्षेत्र उल्लंघन गर्ने ४८, पिकअप तथा ड्रपसम्बन्धी नियम उल्लंघन गर्ने ४५ चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न शीर्षकअन्तर्गत १७८२ चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको बताउँदै सबै चालकलाई नियम पालना गरी सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रकाशित २०८३/०१/०४ शुक्रबार ८:५० बिहान


