काठमाडौं । काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि गरिएको कारबाहीबाट एकै दिनमा १९ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीका अनुसार बिहीबार मात्रै विभिन्न ट्राफिक कारबाहीमार्फत उक्त रकम उठाइएको हो।
प्रहरीका अनुसार २४ घण्टाको अवधिमा कुल २६७० सवारी चालक कारबाहीमा परेका छन्। मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८१ जना चालक कारबाहीमा परेका छन् भने सवारीको अवस्था ठीक नभएका ७४ वटा सवारी साधनमाथि कारबाही गरिएको छ।
त्यसैगरी रेड लाइट उल्लंघन गर्ने १४४ जना, तीव्र गति चलाउने १२७ जना, लेन अनुशासन तोड्ने २७६ जना तथा ढोका खुल्ला राखेर सवारी चलाउने ४९ जना चालक कारबाहीमा परेका छन्। नो हर्न क्षेत्र उल्लंघन गर्ने ६६ जना, पिकअप तथा ड्रपसम्बन्धी नियम उल्लंघन गर्ने ३६ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १८१७ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले उपत्यकामा सुरक्षित, व्यवस्थित र अनुशासित सवारी सञ्चालनका लागि नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रकाशित २०८३/०१/१० बिहिबार ७:३५ बिहान


