साँखुस्थित माधव नारायण परिसरमा एक महिनादेखि सञ्चालन हुँदै आएको स्वस्थानी व्रत तथा माधव नारायण मेलाको अवसरमा भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ। विशेष गरी बिहानको समयदेखि नै स्नान, पूजा–आराधना र व्रत अनुष्ठानका लागि भक्तजनहरू परिसरमा घुईँचो लागिरहेका छन्।
माधव नारायण भगवान्को दर्शन, स्वस्थानी व्रतको कथा श्रवण तथा विभिन्न धार्मिक कर्मकाण्डका लागि काठमाडौं उपत्यका मात्र नभई बाहिरी जिल्लाबाट समेत श्रद्धालुहरू साँखु आइपुगेका छन्। मेलास्थलमा धार्मिक वातावरण छाएको छ भने सुरक्षा र व्यवस्थापनमा स्थानीय निकाय तथा स्वयंसेवकहरू सक्रिय देखिन्छन्।
एक महिनासम्म सञ्चालन हुने यो धार्मिक मेला माघ १८ गते स्वस्थानी व्रतको अन्तिम दिनसँगै औपचारिक रूपमा समापन हुनेछ। अन्तिम दिन विशेष पूजा, हवन तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिने तयारी गरिएको छ।
स्वस्थानी व्रतको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई जीवन्त राख्दै आएको साँखुको माधव नारायण मेला प्रत्येक वर्ष हजारौं भक्तजनको आस्थाको केन्द्र बन्दै आएको छ।

प्रकाशित २०८२/१०/१० ३:२२


