नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय सरकारमा आफ्नो सहभागिता र राजीनामालाई लिएर सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणी प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्पष्टीकरण दिँदै घिसिङले आफू कुनै पदको लोभले नभई मुलुकको विशेष परिस्थिति र युवाहरूको चाहनाका कारण सरकारमा सहभागी भएको स्पष्ट पार्नुभएको छ।
घिसिङका अनुसार जेन–जी आन्दोलनपछिको असहज परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको निरन्तर अनुरोधपछि मात्र उहाँले मन्त्री पद स्वीकार गर्नुभएको थियो। उहाँले लेख्नुभएको छ:
“सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको थिएँ।”
तर, तत्कालीन समयमा राज्य संयन्त्र लगभग शून्यको अवस्थामा रहेको र आन्दोलनकारी युवाहरूको पनि त्यही माग रहेकाले पछि राजनीतिमा जानु परे राजीनामा दिन सकिने समझदारीमा आफू सरकारमा गएको उहाँको भनाइ छ।
आफूले सम्हालेका ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा बिताएका ११५ दिन आफ्नो कार्यक्षमताको प्रमाण भएको उहाँले दाबी गर्नुभएको छ। “आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदितै छ,” घिसिङले भन्नुभएको छ।
उहाँले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायले भ्रमपूर्ण प्रचार भइरहेको भन्दै त्यस्ता टिप्पणीबाट प्रभावित नहुन सबैमा आग्रह गर्नुभएको छ।
स्पष्टीकरणको अन्त्यमा घिसिङले अबको आफ्नो जीवन ‘उज्यालो नेपाल’ निर्माणका लागि राजनीतिमै समर्पित रहने घोषणा गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ। उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु।”
प्रकाशित २०८२/१०/१० ११:२१


