
राइड सेयरिङ्ग नियमावली २०८२ प्रदेश सरकारबाट संशोधन भई फागुन ४ गतेदेखि कार्यान्वयनमा आउने भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति एवन ग्रेटर नेपाल यातायात प्रा.लि.ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीका अध्यक्ष अर्जुन पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस विषयमा आफूहरूबीच भौतिक पूर्वाधार, यातायात तथा विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयसँग पटक–पटक छलफल भएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार छलफलका क्रममा दुई पाङ्ग्रे निजी सवारी साधनले मात्र प्रविधि (एप्स) मार्फत नियमावलीको मापदण्डभित्र रहेर सेवा दिने र चार पाङ्ग्रे सवारी साधन (५ सिटसम्मका) को हकमा भने सार्वजनिक यातायात अर्थात् कालो प्लेटका ट्याक्सीले मात्र सेवा दिन पाउने गरी विभिन्न चरणमा सहमति भइसकेको थियो।
अध्यक्ष पौडेलले उक्त सहमति बाहेक अन्यथा व्यवस्था गरिएको वा सञ्चार माध्यममा आएको समाचार अनुसार मात्र नियमावली संशोधन गरिएको खण्डमा आफूहरूलाई मान्य नहुने स्पष्ट गर्नुभएको छ। साथै, यथार्थ र तथ्यसहितको विस्तृत जानकारी अर्को पोस्टमार्फत सार्वजनिक गरिने समेत उहाँले जानकारी दिनुभएको छ।
राइड सेयरिङ सम्बन्धी नियमावलीको संशोधनले सार्वजनिक यातायात क्षेत्र, विशेषगरी ट्याक्सी व्यवसायमा प्रत्यक्ष असर पार्ने भएकाले यस विषयमा स्पष्टता र सरोकारवालाबीच सहमति आवश्यक रहेको उहाँको भनाइ छ।
प्रकाशित २०८२/१०/१० ६:४८


