म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका डा. महावीर पुनले चुनावी अभियानका लागि सहयोग जुटाउन नयाँ बैंक खाता खोलेको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले धेरै साथी तथा समर्थकहरूले चुनावमा सहयोग गर्न बैंक खाता र QR कोड माग गरेपछि नयाँ खाता खोलिएको बताएका हुन्।
पुनका अनुसार, उक्त खाता केवल चुनावी प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ। उनले खातामा आउने सम्पूर्ण रकमको हिसाब–किताब पूर्ण रूपमा पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। “धेरै समर्थकहरूको अनुरोध आएपछि चुनावका लागि मात्र भनेर यो नयाँ खाता खोलेको हुँ,” पुनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्।
उनले सोही पोस्टमार्फत QR कोड समेत सार्वजनिक गर्दै इच्छुक समर्थकहरूलाई स्वेच्छिक रूपमा सहयोग गर्न आह्वान गरेका छन्। पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उनको यो कदमलाई समर्थकहरूले सकारात्मक रूपमा लिएका छन्।
प्रकाशित २०८२/१०/१२ २:१७


