धादिङको नेत्रावती डब्जोङ–१ स्थित राम्चे गाउँमा देखिएको पहिरोका कारण स्थानीय बासिन्दाको जनजीवन गम्भीर जोखिममा परेको भन्दै निरञ्जना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा अगुवा शैक्षिक व्यक्तित्व केशरी प्रसाद पन्तले पहिरो रोकथामका लागि तत्काल कदम चाल्न माग गर्नु भएको छ।
पन्तका अनुसार राम्चे क्षेत्रमा आएको पहिरोले सर्वसाधारणको हिँडडुल मात्र अवरुद्ध भएको छैन, लंस्वारा, राम्चे चौतारा टोल लगायतका बस्तीहरू नै बसोबासका दृष्टिले अत्यन्त जोखिममा परेका छन्। यस अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता पहिरो रोकथाम हुनुपर्ने उहाँको जोड छ।
उहाँले सम्बन्धित निकाय तथा सरोकारवाला पक्षहरूलाई पहिरो रोकथामसम्बन्धी प्रस्ताव माग गरी त्यसको शीघ्र सम्बोधन गर्न आग्रह गर्नुभएको छ। यदि समयमै समस्या समाधानतर्फ ध्यान नदिइए स्थानीयवासी अझ ठूलो जोखिममा पर्न सक्ने चेतावनी पनि पन्तले दिनुभएको छ।
पन्तको भनाइ अनुसार, स्थानीय विकास र जनसुरक्षालाई प्राथमिकतामा राखेर राम्चे क्षेत्रको सडक तथा पहिरो समस्यालाई यथाशीघ्र समाधान गर्ने उम्मेदवारलाई नै आगामी निर्वाचनमा मतदान गर्न गाउँलेहरू अग्रसर हुने संकेत देखिएको छ। यसले पनि जनताले अब नाराभन्दा काम खोजिरहेको स्पष्ट सन्देश दिने उहाँको भनाइ छ।
स्थानीय बासिन्दाले समेत पहिरो नियन्त्रण र सुरक्षित बसोबासको वातावरण निर्माणका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउन आग्रह गरेका छन्।
प्रकाशित २०८२/१०/१३ ६:५१


