काठमाडौँ ,१३ माघ २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले सहयोगस्वरूप उपलब्ध गराएका सवारी साधनहरू नेपाल आइपुगेका छन्। आज गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच भारतले पहिलो चरणमा ६१ वटा डबल-क्याब पिकअप गाडीहरू हस्तान्तरण गरेको हो।
नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिले गृह मन्त्रालयका पदाधिकारीलाई गाडीको साँचो हस्तान्तरण गर्नुभयो। भारतले यस निर्वाचनका लागि नेपाललाई कुल ६५० वटा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जसमध्ये बाँकी गाडीहरू केही हप्ताभित्रै आइपुग्नेछन्।
हस्तान्तरण गरिएका यी गाडीहरू मुख्यतया निर्वाचन सुरक्षा, गस्ती र मतपत्र ढुवानीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले प्रयोग गर्ने गृह मन्त्रालयले जनाएको छ। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन भारतको यो सहयोगले ठूलो राहत दिने विश्वास गरिएको छ।
प्रकाशित २०८२/१०/१३ ६:५४


