पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सवारी साधन दुर्घटनाका घटनाहरू अत्यधिक बढ्दै गएका छन्। यी दुर्घटनाबाट ट्याक्सी व्यवसाय र ट्याक्सी चालकहरू पनि सुरक्षित रहन सकिरहेका छैनन्। दैनिक रूपमा सडकमा खटिनुपर्ने चालकहरूको ज्यान, यात्रुहरूको सुरक्षा र सार्वजनिक यातायात प्रणाली नै जोखिममा पर्दै गएको यथार्थ हामी सबैले महसुस गरिरहेका छौँ।
सवारी दुर्घटना बढ्नुका कारणहरूमा चालकको लापरबाही, तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन, सडकको अवस्था, सवारी साधनको प्राविधिक कमजोरी, अव्यवस्थित पार्किङ तथा पर्याप्त अनुगमनको अभाव जस्ता विषयहरू प्रमुख रूपमा देखिन्छन्। तर यी कारणहरूको गहिरो अध्ययन, विश्लेषण र तथ्यमा आधारित निष्कर्ष बिना समस्या समाधान सम्भव हुँदैन।
यसर्थ, सम्बन्धित सरकारी निकाय, ट्राफिक प्रहरी, स्थानीय तह, यातायात व्यवसायी संघ–संस्था तथा सरोकारवाला सबै पक्षले सवारी दुर्घटना किन र कसरी भइरहेका छन् भन्ने विषयमा गम्भीर अध्ययन गरी प्रभावकारी निराकरणका उपायहरू तत्काल अवलम्बन गर्न आवश्यक छ। चालक सचेतना अभिवृद्धि, सडक सुधार, कडाइका साथ नियम कार्यान्वयन र नियमित अनुगमनमार्फत मात्र दुर्घटना न्यूनिकरण गर्न सकिन्छ।
सुरक्षित सडक, सुरक्षित यात्रा र सुरक्षित जीवनका लागि सबै पक्षको साझा प्रयास आजको अपरिहार्य आवश्यकता हो भन्नेमा हाम्रो स्पष्ट आग्रह छ।

प्रकाशित २०८२/१०/१५ १२:२३


