गोरखा, १५ माघ २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षा व्यवस्थामा गम्भीर ध्यान दिन जिल्ला प्रशासन कार्यालय गोरखासँग अनुरोध गरेको छ।
जिल्ला समितिका सचिव मिलन रानाद्वारा प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्रमा २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुदन गुरुङ घरदैलो कार्यक्रममै व्यस्त रहेको उल्लेख गरिएको छ।
पत्रमा प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियार सहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत रूपमा सुरक्षा खतरा देखिएको जनाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै उम्मेदवारको सुरक्षाका लागि आवश्यक पर्ने पीएसओ (Personal Security Officer) सहित पर्याप्त सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासनसँग आग्रह गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक अभ्यासका क्रममा उम्मेदवारको सुरक्षालाई गम्भीर विषयका रूपमा लिन आग्रह गर्दै समयमै सुरक्षा प्रबन्ध नहुँदा अप्रिय घटना हुन सक्ने जोखिम औंल्याएको छ।

प्रकाशित २०८२/१०/१५ ६:५३


