काठमाडौँ ,१६ माघ २०८२
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन विभिन्न कालखण्डमा भएका ऐतिहासिक आन्दोलन र विद्रोहमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण वीर शहीदप्रति उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शहीद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले हालै देशमा भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै भएको जेन–जी आन्दोलनका क्रममा युवा तथा विद्यार्थीले ज्यान गुमाउनु परेको पीडादायी यथार्थले सम्पूर्ण समाजको मन भारी बनाएको उल्लेख गरेका छन्।
परिवर्तनका लागि उठेको आवाज फेरि रगतले लेखिनु पर्ने अवस्था आफैंमा राज्य र समाजको सामूहिक असफलता भएको भन्दै अध्यक्ष घिसिङले यस्तो परिस्थिति दोहोरिन नदिन गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
उनले नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भए पनि ती परिवर्तनले आम नागरिकको जीवनमा अपेक्षित आर्थिक सुधार, न्याय र आशा दिन नसकेको टिप्पणी गरेका छन्। शहीदहरूले देखेको भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपालको सपना अझै अधुरै रहेको उल्लेख गर्दै अब शहीद दिवस केवल श्रद्धाञ्जली अर्पण गर्ने दिनमा सीमित नरहनु पर्नेमा उनले जोड दिएका छन्।
“शहीद दिवस व्यक्तिगत स्वार्थ त्याग गरी परिणाममुखी कार्यमार्फत शहीदका सपना साकार गर्ने संकल्प गर्ने दिन हुनुपर्छ,” अध्यक्ष घिसिङले आफ्नो सन्देशमा लेखेका छन्।
शहीदले देखेको सपना—न्याय, सुशासन र समृद्ध नेपाल—साकार पार्न उज्यालो नेपाल पार्टी दृढ, इमानदार र निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
उल्लेखनीय छ, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी घोषणा गरिसकेका छन्।
प्रकाशित २०८२/१०/१६ ४:४९


