काठमाडौं ,१६ माघ २०८२
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश र जहानियाँ राणा शासन विरुद्ध बलिदान दिएका अमर शहीदहरूको योगदान कहिल्यै नबिर्सिने बताएका छन्।
सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली सन्देश व्यक्त गर्दै अध्यक्ष ओलीले आजको दिन सामान्य क्यालेन्डरको मिति जस्तो देखिए पनि इतिहासमा फर्केर हेर्दा नेपाली जनताले उपभोग गरिरहेको स्वतन्त्रता ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको स्पष्ट पारेका छन्।
वि.सं. १९९७ सालमा प्रजातन्त्रको आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गर्दै उनले सोही बलिदानबाट लोकतान्त्रिक आन्दोलनको बीऊ रोपिएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनकै परिणाम स्वरूप आजका लोकतान्त्रिक अधिकार स्थापित भएको जनाउँदै यस ऐतिहासिक विरासतलाई सधैं स्मरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानको मूल्य कहिल्यै नबिर्सिने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित २०८२/१०/१६ ४:५६


