फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी–४ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले मतदाता सँग भावनात्मक अपिल गर्नु भएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले “भूत रोज्नुहुन्छ कि भविष्य, त्यो निर्णय तपाईँहरूको हातमा छ” भन्दै मतदातालाई उज्यालो भविष्यका लागि मतदान गर्न आग्रह गर्नुभएको छ। उहाँले अस्ताउँदै गरेको सूर्यलाई दिनभरिका लागि धन्यवाद दिँदै, उज्यालो बिहानीका लागि मतदान गर्न अनुरोध गर्नुभएको छ।
ढकालले आफूलाई प्राप्त न्यानो माया, समर्थन र विश्वासप्रति आभार व्यक्त गर्दै भनेका छन्, “तपाईँहरूको न्यानो मायाले म अत्यन्त आभारी छु।”
चुनावी प्रचारका क्रममा सबै ठाउँमा लामो समय बस्न नसक्ने बाध्यताको उल्लेख गर्दै उहाँले पूरै जिल्लामा पुग्नुपर्ने भएकाले समय निकै सीमित रहेको बताउनुभएको छ। “चुनावअघि २–३ पटक आइदिनुस्, दिनभर बसिदिनुस् भन्ने आग्रह आउँछ, तर सबै ठाउँ पुग्नुपर्ने भएकाले धेरै समय दिन सकिन,” उहाँले लेख्नुभएको छ।
चुनावपछि भने हरेक कुना–काप्चा, हरेक पाइला मतदातासँगै रहने प्रतिबद्धता व्यक्त गर्दै ढकालले धेरै समय दिन नसकेकोमा दुख नमानिदिन आग्रह गर्नुभएको छ।
ढकालका अनुसार धेरै मतदाताले “यहाँ समय नदेऊ, हामीले तिमीलाई एक मौका दिने निर्णय गरिसकेका छौँ, तिमी अरू पुग्नुपर्ने ठाउँ पुग” भनेर हौसला दिएको बताउनुभएको छ। यसप्रति आभार व्यक्त गर्दै उहाँले सबैलाई धेरै–धेरै धन्यवाद दिनुभएको छ।
प्रकाशित २०८२/१०/२१ ७:४६


