समाजसेवी युवराज सफलले राइड–सेयरिङ सेवा याङ्गो मा चालक तथा यात्रुको बीमा व्यवस्था नहुँदा गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू याङ्गोमा यात्रा गरेको अनुभव सार्वजनिक गर्दै चालकसँग सोध्दा “याङ्गोमा कुनै पनि इन्सुरेन्स छैन” भन्ने जवाफ पाएको उल्लेख गरेका छन्।
सफलले चालक र यात्रु दुवैको जिउ–ज्यानको सुरक्षा अनिवार्य हुनुपर्नेमा जोड दिँदै याङ्गो जस्तो सेवा प्रदायकले न्यूनतम सुरक्षा मापदण्ड समेत पूरा नगर्नु अत्यन्तै गैरजिम्मेवार कदम भएको बताएका छन्।
उनले फेसबुक स्टाटसमा लेखेका छन्, “चालक र यात्रु दुबैको जिउ ज्यानको सुरक्षा हुनुपर्ने होइन र ? याङ्गोले जतिसक्दो चाँडो चालक र यात्रुको इन्सुरेन्स गराओस्, होइन भने याङ्गोको नाममा सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुनेछु।”
युवराज सफलले आफूले हरेकलाई एकपटक मौका दिने तर दिएको मौकाको सदुपयोग नभए वा नगरे नागरिकको न्यायका लागि कानुनी बाटो रोज्ने स्पष्ट चेतावनी पनि दिएका छन्। साथै, यो विषय याङ्गो व्यवस्थापनसम्म पुगोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
राइड–सेयरिङ सेवा प्रयोग गर्ने यात्रुहरूको संख्या बढ्दै गएको अवस्थामा सुरक्षा र बीमाजस्तो संवेदनशील विषयमा सरोकारवाला निकाय तथा सेवा प्रदायकले गम्भीर ध्यान दिनुपर्ने आवाज यस घटनाले थप बलियो बनाएको छ।
#evamedianetwork
#taxinewsnepal
#Evamedia
प्रकाशित २०८२/१०/२१ २:००


