काठमाडौँ
सरकारले २०८२ सालको ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सहिदका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ आर्थिक वृत्ति (पेन्सन) उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले पहिचान गरेका ती परिवारलाई उक्त भत्ता १० वर्षसम्म निरन्तर प्रदान गरिनेछ। यो रकम निजामती सेवाका राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) को सुरुवाती तलबमानको आधाभन्दा बढी हो।
१० वर्षका लागि वार्षिक १३ महिना (दसैँ खर्चसहित) को आधारमा कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ। उक्त रकम सहरी विकास मन्त्रालयमार्फत ‘जेनजी सहिद परिवार कल्याण समाज’ को खातामा निकासा भइसकेको जनाइएको छ।
यस अघि सरकारले ती सहिद परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँ एकमुष्ट राहत समेत दिने निर्णय गरिसकेको छ।
२०८२ भदौमा भएको जन आन्दोलनका क्रममा देशभर ७६ जनाले ज्यान गुमाएका थिए। आवश्यक मापदण्ड पूरा गरेका ४२ जनालाई सरकारले औपचारिक रूपमा सहिद घोषणा गर्दै यो सुविधा लागू गरेको हो।
प्रकाशित २०८२/१०/२२ ११:०४


