काठमाडौं । प्रेस काउन्सिल नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन आचारसंहिता जागरण अभियान’ धादिङ जिल्लाबाटै शुभारम्भ गर्ने निर्णय गरेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–स्थित सल्यानटारमा सम्पन्न काउन्सिलको १२ औँ बैठकले उक्त निर्णय गरेको हो।
काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सातवटै प्रदेशका प्रमुख सहरहरूमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना समेत तय गरेको छ।
बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवाला पक्षलाई अपिल गर्ने निर्णय गरेको छ। साथै, प्रेस काउन्सिलद्वारा प्रदान गरिँदै आएका विभिन्न पुरस्कारहरूलाई थप पारदर्शी, प्रभावकारी र विश्वासयोग्य बनाउन सम्बन्धित कार्यविधिमा परिमार्जन गर्ने निर्णय पनि गरिएको छ।
यस्तै, पत्रपत्रिका वितरण सम्परीक्षणका मापदण्ड पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई थप वस्तुनिष्ठ र समयसापेक्ष बनाइने भएको छ। निरन्तर ५० वर्षसम्म प्रकाशनमा रहेका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ।
सञ्चार माध्यमहरूको अभिलेख अद्यावधिक गर्ने क्रममा देखिएका समस्या समाधानका लागि नयाँ अवधारणा–पत्रसहित कार्ययोजना तयार पार्ने निर्णय गरिएको छ। साथै, धादिङ जिल्लाका ऐतिहासिक तथा धार्मिक स्थलहरू—त्रिपुरासुन्दरी माई भगवती मन्दिर, नरसिंहधाम, भैरवी माई मन्दिर लगायत—को संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।
प्रेस काउन्सिल नेपालले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै सम्बन्धित पक्षमा आग्रह समेत गरेको छ।


प्रकाशित २०८२/१०/२३ ८:०३


