बैतडी
बैतडी बस दुर्घटनामा १३ जनाको दुखद निधन भएको छ। दुर्घटनापछि उपचारका लागि जम्मा ३५ जनालाई अस्पताल पुर्याइएकोमा तीमध्ये थप ५ जनाको उपचारकै क्रममा मृत्यु भएको बताईएको छ।
घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने बाँकी २७ जनाको अवस्था खतरामुक्त रहेको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार जारी रहेको छ।
यसै सन्दर्भमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज ऐन महरले फेसबुक मार्फत दिएका जानकारी अनुसार सुदूरपश्चिम प्रदेश सरकारसँग घाइतेहरूको सम्पूर्ण उपचार निशुल्क गर्ने विषयमा पहल भइरहेको र आजै डडेल्धुरा अस्पताल पुगेर घाइते बिरामीको अवस्था बुझ्नु भएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले भोलि बस्ने प्रदेश मन्त्रिपरिषद् (क्याबिनेट) बैठकबाट उपचार खर्च निशुल्क गर्ने प्रस्ताव पारित गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको भनिएको छ ।
दुर्घटना पछि कञ्चनपुर र बझाङ क्षेत्र शोकमा डुबेको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित २०८२/१०/२३ ८:२६


