काठमाडौं
स्वरोजगार ट्याक्सी चालक राज श्रेष्ठले ट्याक्सी पेशा आज अभिभावकविहीन अवस्थामा पुगेको गम्भीर गुनासो गरेका छन्। सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सन्देश जारी गर्दै उनले ट्याक्सी चालकहरूको हक–हितका लागि प्रभावकारी समिति आवश्यक रहेको बताएका हुन्।

श्रेष्ठले अन्य सवारी साधन—जस्तै बस र ट्रक—सँलग्न दुर्घटना वा समस्या उत्पन्न हुँदा सम्बन्धित समिति र संरचना सक्रिय हुने तर ट्याक्सी पेशामा त्यस्तो संयन्त्र किन नदेखिएको भन्ने प्रश्न उठाएका छन्। “अरू क्षेत्रमा दुर्घटना भयो भने तुरुन्त समिति आउँछ, समन्वय हुन्छ। तर हाम्रो ट्याक्सी पेशाभित्र किन यस्तो व्यवस्था छैन?” भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।
उनले ट्याक्सी पेशाभित्र समिति छन् कि छैनन् भन्ने नै अन्योल रहेको उल्लेख गर्दै, “यदि समिति छन् भने कहाँ छन्? चालकहरूको दुःख–पीडा सुन्ने, संकटमा साथ दिने संरचना किन सक्रिय छैन?” भन्ने प्रश्नसमेत उठाएका छन्।
राज श्रेष्ठले ट्याक्सी चालकहरूलाई सधैं ‘हामी एक हौं’ भन्ने नारा मात्र सीमित नराखी, व्यवहारमै एकजुट भएर संस्थागत संरचना निर्माण गर्न आग्रह गरेका छन्। ट्याक्सी पेशाको संरक्षण, अधिकार र सुरक्षाका लागि अब ढिलो नगरी मजबुत समिति गठन अपरिहार्य भएको उनको भनाइ छ।
उनको यो अभिव्यक्ति पछिल्लो समय ट्याक्सी चालकहरूले भोग्दै आएका समस्या, असुरक्षा र प्रतिनिधित्वको अभावप्रति गम्भीर ध्यानाकर्षणका रूपमा हेरिएको छ।
प्रकाशित २०८२/१०/२४ ११:४८


