काठमाडौं,२४ माघ २०८२
नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सचेत बन्न सर्वसाधारणलाई आग्रह गरेको छ। सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमको दुरुपयोगबाट गलत सूचना र भ्रम फैलिने, जातीय, धार्मिक तथा सामाजिक सद्भाव बिग्रने र शान्ति–सुरक्षामा नकारात्मक असर पर्ने गतिविधि बढ्दै गएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण गराएको हो।
नेपाल प्रहरीका अनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक तथा अपूर्ण सूचनाहरू निर्माण गरी सेयर गर्नु, अरूको चरित्र हत्या गर्ने सामग्री फैलाउनु तथा समाजमा द्वन्द्व र अस्थिरता सिर्जना गर्ने कार्य कानुन विपरीत र दण्डनीय अपराध हुन्।
प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोहरूलाई भड्किलो, गलत वा अपूर्ण रूपमा काटछाँट गरी अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न आग्रह गरेको छ। साथै यस्ता सामग्रीलाई प्रोत्साहन गर्ने उद्देश्यले लाइक, सेयर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरिएको छ।
कानुन विपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु अपराध हुने भन्दै प्रहरीले अनलाइनमा देखिने कुनै पनि सामग्री सेयर गर्नुअघि त्यसको सत्यता र विश्वसनीयता यकिन गर्न सुझाव दिएको छ।
नेपाल प्रहरीले सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै जिम्मेवार डिजिटल नागरिक बन्न र समाजमा शान्ति तथा सद्भाव कायम राख्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।
प्रकाशित २०८२/१०/२४ १:१६


