रामेछाप ,२७ माघ
काठमाडौँबाट मन्थली–खुर्कोट हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित बेनीघाट पुल नजिक दुर्घटनाग्रस्त भई तामाकोशी नदीमा खसेपछि अखिल नेपाल यातायात मजदुर सङ्घ केन्द्रीय समिति स्तब्ध र मर्माहत भएको जनाएको छ।
पूर्व अरनिको यातायात प्रा.लि. अन्तर्गत बागमती प्रदेश ०१–०५ ख ९९७५ नम्बरको उक्त बस आज बिहान करिब १०:४० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षति भएको र केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
अखिल नेपाल यातायात मजदुर सङ्घ केन्द्रीय समिति अध्यक्ष दिपक केसी ज्यू ले फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
सङ्घले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न नेपाल सरकारसँग अपिल गरेको छ। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन दीर्घकालीन र प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा पनि सङ्घले जोड दिएको छ।
त्यसैगरी, भविष्यमा यस्ता ठूला सडक दुर्घटनाहरूमा तत्काल, प्रभावकारी र समन्वित हवाई उद्धार तथा राहत कार्यको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
विपद्को यस घडीमा उद्धार तथा उपचारमा संलग्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा स्वयंसेवकप्रति सङ्घले हार्दिक धन्यवादसमेत व्यक्त गरेको छ।
प्रकाशित २०८२/१०/२७ १८:४३


