चितवन,फागुन ०४
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कम्यूनिट पार्टी बाट चितवनको भरतपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनु भएकी पूर्व मेयर रेणु दाहाल यतिबेला फागुन २१ निर्वाचन केन्द्रित घरदैलो अभियानमा व्यस्त रहनु भएको छ।
आफ्नो सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै दाहालले घरदैलोका क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले आफू अत्यन्त उत्साहित बनेको बताउनु भएको छ। भरतपुर महानगरपालिका मा नौ वर्षे कार्यकाल पूरा गर्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण आज जनताबाट अपार स्नेह पाउन सकेको अनुभूति भएको उहाँको भनाइ छ।
निर्वाचनमा सहभागी भएपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्ने मान्यतामा आफू स्पष्ट रहेको उल्लेख गर्दै दाहालले मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउने उच्च मनोबल पनि रहेको बताउनु भएको छ।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिता विपरीत केही सञ्चार माध्यमबाट भ्रामक समाचार प्रसारित भएकोप्रति दाहालले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने भन्दै कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैलाई उहाँले हार्दिक अनुरोध गर्नुभएको छ।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको दाहालले उल्लेख गर्नुभएको छ।
प्रकाशित :- २०८२/११/०४ ११:४८ बिहान


