आज नेपाली कांग्रेसले धनुषाको जनकपुरमा विशाल आमसभा आयोजना गर्दै छ। आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त सभामा लाखौँ नेता–कार्यकर्ता तथा समर्थकको सहभागिता रहने कांग्रेसले जनाएको छ।
सभालाई पार्टी सभापति, उपसभापति लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यसै सभामार्फत नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गर्ने तयारी गरेको छ।
यस अघि गत फागुन ३ गते पार्टीको केन्द्रीय कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गर्दै जनकपुर सभामै सार्वजनिक गर्ने निर्णय गरिएको थियो। यस कारण पनि जनकपुरको यो सभा विशेष चासोका साथ हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार जनकपुरको सभाले कांग्रेसको चुनावी रणनीति, एजेन्डा र सन्देश स्पष्ट पार्ने अपेक्षा गरिएको छ। बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेसले जनतासामु कस्तो प्रतिबद्धता ल्याउँछ भन्ने विषयलाई लिएर सर्वत्र चासो बढेको छ।
प्रकाशित २०८२/११/०६ बिहान ८:३७


