काठमाडौँ ,फागुन
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ ले आयोजना गरेको निर्वाचन विशेष छलफल कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी ज्यूले ट्याक्सी व्यवसायीहरूको हकहित र समस्याका विषयमा आफू पहिलेदेखि नै आवाज उठाउँदै आएको स्पष्ट गर्नुभएको छ।
अध्यक्ष तिवारीले यसअघि पनि यातायात व्यवसायीका पक्षमा बोलेको र उनीहरूको हकहितका लागि निरन्तर काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि स्थानीय तहबाट गर्न सकिने सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ट्याक्सी व्यवसायीहरूले राज्यबाट भोग्नुपरेका दुःख, झन्झट र व्यवहारिक समस्यालाई आफूहरूले ग्रहण गर्ने र समाधानतर्फ पहल गर्ने बताउनुभयो।
कार्यक्रममा उहाँले यहाँ उपस्थित रहनु भएका ट्याक्सी व्यवसायी र विमानस्थल (एयरपोर्ट) भित्र सञ्चालन हुने ट्याक्सीबीच स्पष्ट फरक रहेको उल्लेख गर्दै, नीतिगत रूपमा समेत यस विषयलाई बुझेर व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो। “सामान्य ट्याक्सी व्यवसायीले भोग्ने समस्या र एयरपोर्ट भित्रका ट्याक्सीका अवस्था एउटै होइनन्,” उहाँले भन्नुभयो।
यसैक्रममा नेपाली कांग्रेसका सभापतिले पनि यातायात क्षेत्र सुधारका लागि विभिन्न योजनाहरू अघि सारेको उल्लेख गर्दै, पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको जानकारी गराइयो। घोषणापत्रमा यातायात सुधार, व्यवसायीको संरक्षण र व्यवस्थापनसँग सम्बन्धित विषयहरू समेटिएको बताइएको छ।
अध्यक्ष तिवारीले पार्टी र आफू व्यक्तिगत रूपमा समेत ट्याक्सी व्यवसायीहरूको सबै समस्यामा साथ रहने दृढता व्यक्त गर्दै, यातायात क्षेत्रलाई व्यवस्थित, सम्मानजनक र व्यवसायीमैत्री बनाउने दिशामा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ता, ट्याक्सी व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रकाशित २०८२/११/०८ दिउँसो २:२८


