धादिङमा भएको दर्दनाक बस दुर्घटनाप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पोखराबाट काठमाडौँतर्फ यात्रा गरिरहेको यात्रुबाहक बस धादिङको भैंसीगौडास्थित पृथ्वी राजमार्गमा मध्यराति दुर्घटनामा परेर धेरै यात्रुको ज्यान गएको खबरले आफू मर्माहत बनेको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउने यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
प्राप्त जानकारी अनुसार सोमबार राति पोखराबाट काठमाडौँ आउँदै गरेको उक्त बस धादिङको चरौदी नजिकै त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको र अन्य यात्रु घाइते भएका बताइएको छ। उद्धार तथा उपचार कार्य सम्बन्धित निकायले निरन्तर अघि बढाइरहेका छन्।

प्रकाशित २०८२/११/११ सोमबार ८:३३ बिहान


