राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन्। सोमबार सामाजिक सञ्जालमार्फत लामो भावुक पोस्ट गर्दै उनले आफू पछिल्लो सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहनु परेको बताएकी छिन्।
उनका अनुसार घुँडाको एसीएलमा यस अघि गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर समस्या देखिएको छ, जसका कारण पुनः जटिल शल्यक्रिया अनिवार्य भएको हो। अघिल्लो पटक उपचारका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वबाट सम्पूर्ण व्यवस्थापन र सहयोग पाएको उल्लेख गर्दै यसपटक भने वाचा गरिएको सहयोग नपाएको उनले गुनासो गरेकी छिन्।
साम्बाका अनुसार चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाबाट आवश्यक प्रक्रिया अघि नबढ्दा उपचारमा ढिलाइ भएको छ। एन्फा अध्यक्षले अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्न सकिने जानकारी दिए पनि प्रशासनिक सहयोग सम्भव नभएको बताएपछि आफू थप अन्योलमा परेको उनको भनाइ छ।
हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डमै उपचार गर्न तयार रहेको भए पनि चोटको गम्भीरता र यसअघि कतारको अस्पेटार अस्पतालमा उच्चस्तरीय उपचार पाएको अनुभवका कारण पुनः सोही अस्पतालमा उपचार गराउन चाहेको साम्बाले उल्लेख गरेकी छिन्। क्लबबाट विमामार्फत प्राप्त हुने रकम अपुग हुने भएकाले शल्यक्रिया र करिब ७–८ महिना लामो रिह्याबका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उनले बताएकी छिन्।
सरकार समक्ष पनि सहयोगका लागि पहल भएको भए तापनि प्रक्रिया अपेक्षा अनुसार अघि नबढेकाले शल्यक्रिया नगरी बस्ने अवस्था नरहेको उनको भनाइ छ। आफ्नो करियरकै सबैभन्दा कठिन लडाइँमा रहेको उल्लेख गर्दै उनले आम समर्थकहरूलाई सहयोगका लागि आग्रह गरेकी छिन्।
“थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” भन्दै उनले आफ्नो आत्मविश्वास व्यक्त गरेकी छिन्। नेपालमा रहनुहुने समर्थकलाई बैंक तथा क्यूआर कोडमार्फत र विदेशमा रहनुहुनेलाई अनलाइन लिंकमार्फत सहयोग गर्न उनले अपिल गरेकी छन्।

प्रकाशित २०८२/११/११ सोमबार ५:०९ बेलुका


