पछिल्लो समय बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ।
यसै क्रममा हिजो सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँको नागढुङ्गा नाका हुँदै उपत्यका बाहिरिने रात्रिकालीन सवारी साधनका चालक, परिचालक तथा यात्रुलाई सवारी नियमसम्बन्धी सचेतना प्रदान गर्नुभएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, सवारी साधनको अवस्था दुरुस्त राखी संयमित र सीमित गतिमा चलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जथाभावी ओभरटेक नगरी लेनको पालना गर्न, मापसे (मादक पदार्थ सेवन) तथा लापसे (लागूपदार्थ सेवन) गरी सवारी साधन नचलाउन चालकहरूलाई कडा अनुरोध गर्नुभयो।
साथै, आफू सवार सवारी साधनका चालकले ट्राफिक नियम उल्लङ्घन गर्दै लापरवाहीपूर्वक सवारी चलाएको अवस्थामा यात्रुले पनि सचेत गराई जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रकाशित २०८२/११/१२ मंगलबार ६:०५ मंगलबार


