पछिल्लो समय देशभर दैनिकजस्तै सवारी दुर्घटनाका घटना बढ्दै गइरहेका छन्, जसले जनधनको ठूलो क्षति गराइरहेको छ। यस्ता दुर्घटनाहरू सामान्य संयोग मात्र नभई मानवीय लापरवाही, कमजोर व्यवस्थापन र प्रभावकारी अनुगमनको अभाव का परिणामका रूपमा देखिन थालेका छन्।
दुर्घटनाका मुख्य कारणहरूमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको उल्लंघन, सवारी साधनको प्राविधिक कमजोरी, अव्यवस्थित सडक अवस्था तथा चालकको थकान र अनुभवहीनता प्रमुख रहेका छन्। साथै, सडक विस्तार र मर्मत कार्य समयमा सम्पन्न नहुनु, संकेतचिन्हको कमी र सार्वजनिक सवारीको अनियमित सञ्चालनले पनि जोखिम बढाइरहेको छ।
यस सन्दर्भमा नेपाल ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग लगायतका सम्बन्धित निकायहरूले समयमै गम्भीर ध्यानाकर्षण गर्दै दुर्घटनाका वास्तविक कारण पहिचान गर्नु अत्यावश्यक छ। त्यस्तै, चालक, सवारी व्यवसायी, स्थानीय तह र सर्वसाधारण सबैले आ–आफ्नो दायित्वबोध गर्न जरुरी देखिन्छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि कडा अनुगमन, नियमको प्रभावकारी कार्यान्वयन, चालक प्रशिक्षण र सचेतना कार्यक्रम, सवारीको नियमित प्राविधिक परीक्षण तथा सडक सुरक्षामा लगानी अपरिहार्य छन्। समयमै समन्वित पहल नहुने हो भने सवारी दुर्घटनाबाट हुने क्षति अझै भयावह बन्दै जाने निश्चित छ।

प्रकाशित २०८२/११/१२ मंगलबार ५:०५ बेलुका


