नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति सबैलाई धन्यवाद दिएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गरेकी साम्बाले मंगलबार फेरि फेसबुकमा भावुक सन्देश लेख्दै देश–विदेशबाट प्राप्त साथ, विश्वास र मायाप्रति कृतज्ञता व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, “आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ। पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन।” आर्थिक सहयोगले मात्र नभई प्राप्त हौसला र विश्वासले आफूलाई अझ बलियो बनाएको साम्बाको भनाइ छ। यही ऊर्जाले शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्ने उनले प्रतिबद्धता जनाएकी छन्।
साम्बाका अनुसार, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) सहयोग संकलन भइसकेको छ। साथै विभिन्न संघ–संस्था, प्रायोजक र व्यक्तिहरूले नगद तथा सुविधाजन्य सहयोगको वाचा गरेका छन्। यसले उपचार खर्चका साथै कतार मा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्च पनि पुग्ने देखिएको उनले उल्लेख गरेकी छन्। त्यसैले आजबाट दुवै खातामा सहयोग रकम रोकिदिन उनले अनुरोध गरेकी छन्।
उनले आफू आवद्ध क्लब वेलिंगटन फिनिक्स ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गर्दै थप सहयोग गरिरहेको जानकारी दिएकी छन्। चाँडै नै शल्यक्रियाको मिति प्राप्त भई उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
चोटका कारण शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकित बनेको उल्लेख गर्दै साम्बाले समर्थकहरूको साथले आफू फेरि उठ्ने साहस पाएको बताएकी छन्। “म एक्लो छैन भन्ने विश्वास दिएको छ,” उनले लेखेकी छन्।
अन्त्यमा उनले दृढ संकल्प व्यक्त गर्दै भनेकी छन्, “म फर्कनेछु। अझ मजबुत भएर फर्कनेछु। फेरि नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु। देशको लागि, तपाईंहरूको लागि र त्यो विश्वासको लागि।” समर्थकहरूको मायाको साँचो जवाफ आफ्नो पुनरागमन हुने भन्दै उनले चाँडै मैदानमा भेट्ने आशा व्यक्त गरेकी छन्।

प्रकाशित २०८२/११/१२ मंगलबार ४:३५ दिउँसो


