सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोग ले निर्वाचन सहज रूपमा सम्पन्न गर्न ती दिनहरूमा सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गर्दै पत्राचार गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गरेको बताइएको छ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्याल ले मन्त्रिपरिषद्को बैठकपछि उक्त निर्णयबारे जानकारी दिनुभएको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अघि फागुन १८ र १९ गते होली पर्वको बिदा रहेको छ भने त्यसपछि सरकारद्वारा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरिएको छ। साथै, फागुन २३ गते शनिबार तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकाले करिब एक सातासम्म निरन्तर बिदा हुने देखिएको छ।

प्रकाशित २०८२/११/१२ मंगलबार ४:२४ दिउँसो


