नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) को गम्भीर ध्यानाकर्षण भएको छ।
एन्फाले जारी गरेको विज्ञप्तिमा साम्बा नेपाली फुटबलको गौरव र देशका लागि निरन्तर समर्पित योगदान दिँदै आएकी खेलाडी भएको उल्लेख गरिएको छ। हाल उनी न्युजिल्याण्डको क्लब Wellington Phoenix FC बाट अष्ट्रेलियन ए–लिगमा व्यवसायिक फुटबल खेलिरहेकी छन्। खेलकै क्रममा उनको घुँडामा गम्भीर चोट लागेको विषयमा एन्फा जानकार रहेको विज्ञप्तिमा उल्लेख छ।
एन्फाका अनुसार अन्तर्राष्ट्रिय प्रचलन अनुसार व्यवसायिक क्लब फुटबल खेल्दा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने गर्दछ। साम्बाको हकमा उनको क्लबले न्युजिल्याण्डमै उपचारको पहल गरे पनि उनले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेकाले त्यसका लागि एन्फाले आवश्यक सबै प्रयास र पहल गरिरहेको स्पष्ट गरिएको छ।
साम्बाले नेपाली फुटबलमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै एन्फाले उनको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको जनाएको छ। यस विषयमा एन्फाका अध्यक्षले व्यक्तिगत तवरबाट समेत कतार फुटबल संघसँग पटक–पटक आवश्यक पहल तथा ताकेता गरिरहेको जानकारी दिइएको छ।
साथै, साम्बाले सोमबार गरेको आग्रह अनुसार एन्फाले परराष्ट्र मन्त्रालयमार्फत उनको उपचारसम्बन्धी आवश्यक समन्वयका लागि पत्राचार गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
एन्फाले विगतमा राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतको सम्पूर्ण उपचार खर्च संघले नै व्यहोरेको र ती खेलाडीहरूले हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको स्पष्ट पारेको छ।
एन्फाले साम्बाको सम्बन्धित क्लबसँग उपचारसम्बन्धी सम्झौताबारे अध्ययन तथा छलफल गरी उनको उपचारमा कुनै कमी नआउने गरी हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय टोलीकी कप्तानलाई परेको यस पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउने लक्ष्यमा संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
हिजो साम्बाले फेसबुकमार्फत उपचारमा पर्याप्त सहयोग नपाएको गुनासो व्यक्त गरेपछि एन्फाका प्रवक्ता सुरेश शाहले यो विज्ञप्ति जारी गरेका हुन्।


प्रकाशित २०८२/११/१२ मंगलबार ७:२३ बिहान


