काठमाडौँ ,फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि ‘सबल र समृद्ध नेपाल’ को नारासहित आफ्नो संकल्प पत्र सार्वजनिक त गरेको छ, तर यसभित्रका एजेन्डाहरूले जनतामा उत्साह होइन, थप आशंका र आक्रोश पैदा गरिदिएको छ। राजसंस्था र हिन्दुराष्ट्रको भावनात्मक कार्ड खेलेर फेरि पनि सत्ताको सौदाबाजी गर्ने दाउमा राप्रपा लागेको भन्दै नागरिकस्तरबाट कडा आलोचना सुरु भएको छ।सञ्चार माध्यमहरूले यसलाई ‘महत्वाकांक्षी’ भने पनि सडकको आवाज भने राप्रपाको विश्वसनीयतामाथि नै खनिएको छ।
१. “व्यवस्था कि अवस्था?”: जनताको कडा थप्पड
राप्रपाले प्रदेश संरचना खारेज गरी ‘दुई तहको सरकार’ को वकालत गरेको छ। तर, पटक-पटक सत्ताको स्वाद चाखेको यो पार्टीले सरकारमा हुँदा कहिल्यै यी मुद्दामा अडान लिन नसकेको इतिहास साछी छ। जनताको प्रश्न छ— “हिजो कुर्सीमा बस्दा मौन बस्ने, आज चुनाव आउँदा प्रदेश खारेजीको नाटक गर्ने? हामीलाई राजसंस्था र गणतन्त्रको लडाइँ देखाएर भोट माग्ने धन्दा बन्द गर, हाम्रो भान्साको महँगी कसले घटाउँछ?”
२. आर्थिक विकासको ‘हावादारी’ सपना
आगामी १० वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने राप्रपाको दाबीलाई अर्थविद्हरूले ‘चुनावी ललिपप’ को संज्ञा दिएका छन्। न त लगानीको स्रोत छ, न त उत्पादन बढाउने कुनै ठोस योजना। जनताको आरोप स्पष्ट छ— “बिना आधार घोषणापत्रमा कोर्दैमा देश समृद्ध हुँदैन। यो केवल भोट तान्नका लागि बाँडिएको फोस्रो आश्वासन मात्र हो।”
३. हिन्दुराष्ट्र र राजा: भावनाको खेती कहिलेसम्म?
हिन्दुराष्ट्र र राजसंस्थालाई मुख्य मियो बनाएको राप्रपालाई लिएर नागरिकहरू आक्रोशित छन्। उनीहरू भन्छन्— “धर्म र राजाको नाममा राजनीति गरेर कतिन्जेल खाने? भ्रष्टाचार र सुशासनमा राप्रपाको आफ्नै अनुहार कति सफा छ? सत्ताका लागि जोसँग पनि मिल्ने ‘अवसरवादी’ चरित्रले गर्दा यी संकल्पहरू केवल कागजी खोस्टो मात्र हुन्।”
४. युवालाई आश्वासन, तर व्यवहारमा शून्य
विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने आकर्षक वाचा त गरिएको छ, तर खाडीमा पसिना बगाइरहेका युवाहरू राप्रपाको यो गफ पत्याउन तयार छैनन्। सामाजिक सञ्जालमा युवाहरूको आवाज सुनिन्छ— “पहिले पनि यस्तै गफ दिइएको हो, काम सिन्को भाँचिएको छैन। हामीलाई भाषणको पुल होइन, देशमै स्वाभिमानका साथ काम गर्ने वातावरण चाहियो।”
५. निष्कर्ष: अविश्वासको घेरामा ‘पृथ्वी पथ’
राप्रपाको ‘पृथ्वी पथ’ ले समृद्धिको रंगीन तस्विर देखाउन खोजे पनि यसको जग निकै कमजोर छ। पुराना र असफल भइसकेका एजेन्डाहरूलाई नयाँ लेपन लगाएर बजारमा ल्याउँदैमा सचेत मतदाता झुक्किने अवस्था देखिँदैन। “वाचा धेरै, आधार खोक्रो” भएको यो दस्तावेजले राप्रपाप्रति जनताको अविश्वास र आक्रोशलाई झन् गहिरो बनाएको छ।

प्रकाशित २०८२/११/१२ मंगलबार ७:४८ बिहान


