प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा चुनावी प्रचारप्रसार, र्याली, सांस्कृतिक कार्यक्रम तथा झण्डा–चिह्न अंकित सामग्रीमा बालबालिका प्रयोग गरिएको भन्दै उजुरी आएको जनाउँदै निर्वाचन आयोगले यस्तो कार्य नगर्न कडा आग्रह गरेको छ।
आयोगका अनुसार निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५ र निर्वाचन आचारसंहिता, २०८२ विपरीत हो। आचारसंहिता उल्लङ्घन गरे एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी आयोगले दिएको छ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई बालबालिकाको अध्ययन–अध्यापनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न र बालअधिकारको संरक्षण तथा संवर्द्धन गर्न आग्रह गरेको छ। आचारसंहिता विपरीतका कार्य भए प्रचलित कानुन अनुसार कारबाही हुने स्पष्ट पारिएको छ।


प्रकाशित २०८२/११/१२ मंगलबार ८:०१ बिहान


