नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी वाचापत्र प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सङ्गठनका अध्यक्ष हंस बहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्तिमा रास्वपाको वाचापत्रमा ट्रेड युनियन खारेज गर्ने आशय समावेश हुनु संविधान विपरीत भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्पष्ट पारिएको छ।
साथै, नेपालले International Labour Organization (ILO) को Convention No. 98 लगायतका अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूमा प्रतिबद्धता जनाएको स्मरण गराउँदै, ट्रेड युनियन गतिविधिलाई राजनीतिक वा गैरकानुनी रूपमा चित्रण गर्नु संविधान र अन्तर्राष्ट्रिय मान्यता विपरीत हुने विज्ञप्तिमा उल्लेख छ।
सङ्गठनका अनुसार ट्रेड युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार श्रमिकको मौलिक अधिकार भएकाले त्यसलाई कमजोर पार्ने, नियन्त्रण गर्ने वा निषेध गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन। शिक्षक तथा कर्मचारीका पेशागत अधिकार सुनिश्चित गर्न ट्रेड युनियनको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, यसमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले संविधान, लोकतन्त्र र श्रमिक अधिकारको संरक्षणका लागि निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्दै, सबै सरोकारवालालाई संवैधानिक मूल्य–मान्यता तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डको सम्मान गर्न आग्रह गरेको छ।


प्रकाशित २०८२/११/११ सोमबार ८:०५


