नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक अभाव भएको भन्दै सामाजिक सञ्जालमार्फत QR कोड सार्वजनिक गरेपछि नेपाली कांग्रेस ले आर्थिक सहयोग गर्ने भएको छ।
नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै साम्बाको उपचारमा पार्टीका तर्फबाट सहयोग प्रदान गरिएको जनाएको हो। विज्ञप्ति अनुसार सावित्रा भण्डारीको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोट लागेको र हाल जटिल शल्यक्रियाको तयारी भइरहेको छ। यस्तो अवस्थामा उहाँको उपचारमा सहयोग गर्नु सबैको कर्तव्य भएको कांग्रेसले उल्लेख गरेको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडी उपचार कोषमा पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही अनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेड मा रहेको खाता नम्बर ३४४०१०१०००११३७ मा नेपाली कांग्रेसले रु. ५,००,००० (पाँच लाख रुपैयाँ) जम्मा गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको बताएका छन्। साथै, उनले पार्टी तथा आफ्नो व्यक्तिगत तर्फबाट सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेसले खेलकुदलाई मनोरञ्जनको सीमाभन्दा माथि उठाएर ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्डका रूपमा विकास गर्ने सङ्कल्प दोहोर्याएको छ।


प्रकाशित २०८२/११/१२ मंगलबार २:३८ दिउँसो


