धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार बोध नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट आफ्नो चुनावी बाचा पत्र मंगलबार सार्वजनिक गर्नुभएको छ।
सार्वजनिक बाचा पत्रमा उहाँले सुशासन र संस्थागत सुधारलाई प्रमुख एजेन्डाका रूपमा अघि सार्नुभएको छ। राज्यका निकायमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै उत्पादनमुखी अर्थतन्त्र र रोजगारी सिर्जनामार्फत स्थानीय स्रोत–साधनको उपयोग गरी युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने योजना समेटिएको छ।
स्वास्थ्य तथा सामाजिक सुरक्षाअन्तर्गत सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ। शिक्षा र मानव पूँजी विकासमा गुणस्तरीय शिक्षा, सीपमूलक तालिम तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको छ।
पूर्वाधार र कनेक्टिभिटीमा सडक, यातायात, सञ्चार तथा ऊर्जा क्षेत्रको विकासलाई अघि बढाउने उल्लेख छ भने वातावरण संरक्षण र विपद् व्यवस्थापनमा दीगो विकास र विपद् न्यूनीकरणका कार्यक्रम समावेश गरिएका छन्।
त्यसैगरी अध्ययन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, प्रवास र ‘ब्रेन गेन’मार्फत विदेशमा रहेका नेपालीको सीप र अनुभव स्वदेशमा उपयोग गर्ने नीति अघि सारिएको छ। सामाजिक न्यायसहित समावेशी विकासमार्फत सबै वर्ग, समुदाय र क्षेत्रलाई विकासको मूलधारमा ल्याउने प्रतिबद्धता पनि बाचा पत्रमा समेटिएको छ।





पार्टीको करार

प्रकाशित २०८२/११/१३ बुधबार ५:३३ बिहान


