काठमाडौँ
निर्वाचनको घडी नजिकिँदै गर्दा देशैभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलका ‘सपनाका सौदागरहरू’ यतिबेला आकर्षक नारा र रङ्गीन घोषणापत्र बोकेर तपाईँको आँगनमा आइपुगेका छन्। कसैले रेलका लिक बिछ्याउने कुरा गरेका छन्, कसैले अन्तरिक्षसम्मको यात्रा तय गर्ने दाबी गरेका छन्।
तर, मतदान गर्न केही दिन मात्रै बाँकी रहँदा आम मतदातासामु एउटा गम्भीर प्रश्न खडा भएको छ— के हामीले अझै पनि ती झुटा आश्वासनका ठेलीहरू मात्रै पढ्ने? कि अब ती सपनाको ‘पोस्टमार्टम’ गर्ने र कार्यान्वयनको ‘सम्भावना’ खोज्ने बेला आयो?
१. विचारले मात्रै पेट भरिँदैन, नतिजा खै?
दशकौँदेखि नेपाली जनताले ‘वाद’ को लडाइँ लडे। कोही साम्यवादका नाममा, कोही प्रजातन्त्र त कोही समाजवादका नाममा विभाजित भए। तर, के ती ‘वाद’ ले तपाईँको भान्साको महँगी घटायो? के ती विचारले हाम्रा युवालाई खाडीको प्रचण्ड गर्मीमा पसिना बगाउनबाट रोक्यो?
विचार मार्गदर्शक हुन सक्छ, तर कार्यक्षमता बिनाको विचार केवल ‘बौद्धिक विलासिता’ मात्र हो। अब विचारको लेपन होइन, त्यो विचारलाई धरातलमा उतार्ने ‘सम्भावना’ (Feasibility) हेर्ने आँट गर्नुहोस्।
२. घोषणापत्र: ‘रद्दीको टोकरी’ कि ‘प्रतिवद्धता’?
विगतका चुनावमा गरिएका बाचाहरू कति पूरा भए? उम्मेदवार तपाईँको ढोकामा आउँदा निर्धक्क भएर यी दुई प्रश्न सोध्नुहोस्:
• “तपाईँले घोषणापत्रमा लेखेको योजनाका लागि बजेट कहाँबाट आउँछ?” * “यो काम ५ वर्षभित्रै सकिने प्राविधिक आधार के छ?” यदि उम्मेदवारसँग ठोस जवाफ छैन र केवल ‘गरिन्छ’ भन्ने थेगो मात्र छ भने बुझ्नुहोस्— त्यो घोषणापत्र तपाईँको आँखामा छारो हाल्ने अर्को एउटा ‘चुनावी प्रपञ्च’ मात्र हो।
३. सम्भावनाको कसीमा उम्मेदवारलाई घोट्नुहोस्
जसले वडाको एउटा नाली सफा गर्न र धुलोरहित सडक बनाउन सकेन, उसले ‘राष्ट्र कायापलट’ गर्ने कुरा गर्नु आफैँमा ठट्टा हो। अबको समय ‘को कति लोकप्रिय छ?’ भनेर हेर्ने होइन, ‘को कति सक्षम छ?’ भनेर नाप्ने हो। उम्मेदवारको विगतको ट्र्याक रेकर्ड र उसको कार्यक्षमतालाई नै मतदानको मुख्य आधार बनाउनुहोस्।
“भोट हाल्नु भनेको ५ वर्षका लागि आफ्नो र आफ्ना सन्तानको भविष्य कसैलाई सुम्पिनु हो। त्यसैले, पार्टीको झण्डा बोकेर होइन, भविष्यको चिन्ता बोकेर मतदान केन्द्र जानुहोस्।”

प्रकाशित २०८२/११/१३ बुधबार ५:३४ बिहान


