धादिङ ,फागुन
धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसीगौडामा भएको यात्रुबाहक बस दुर्घटनामा घाइतेहरूको उद्धारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्थानीय अरुण थपलियालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सम्मान गरेको छ।
हिजो आयोजित एक कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले थपलियालाई खादा लगाइ सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।
बेनिघाट रोराङ्ग गाउँपालिका–५ चरौंदीका स्थानीय तथा र्याफ्टिङ व्यवसायी रहेका थपलियाले व्यक्तिगत र्याफ्टको प्रयोग गरी दुर्घटनामा घाइते भएका २४ जनाको उद्धार कार्यमा सुरक्षाकर्मीहरूलाई सक्रिय सहयोग गर्नुभएको थियो। नदी किनारमा भएको दुर्घटनाका कारण उद्धार चुनौतीपूर्ण बनेको अवस्थामा थपलियाको तत्परता र साहस प्रशंसनीय रहेको प्राधिकरणले जनाएको छ।
गत फागुन ११ गते साँझ पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सोमबार बिहान करिब १ः३० बजे धादिङ्गको भैंसीगौडामा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए।
प्राधिकरणले विपद्का समयमा स्थानीय तह र नागरिकको सक्रिय सहभागिताले उद्धार तथा राहत कार्य प्रभावकारी हुने उल्लेख गर्दै थपलियाजस्ता व्यक्तिहरूको योगदानले समाजलाई प्रेरणा दिने बताएको छ।
प्रकाशित :- २०८२/११/१४ बिहिबार ४:२० बिहान


