फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई निर्वाचन आयोग ले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
आयोगका अनुसार कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य दल, उम्मेदवार, दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएका छन्। साथै विभिन्न सञ्चार माध्यमहरूबाट समेत यस्ता गतिविधिबारे जानकारी आएको भन्दै आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको स्पष्ट गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (क) बमोजिम निर्वाचनको क्रममा कुनै व्यक्तिलाई उम्मेदवारी दिन, कानुनबमोजिम प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने, पुर्याउन लगाउने वा थुनछेक गर्ने कार्य कानुन विपरीत हुने उल्लेख गरिएको छ। यस्तो कसुर गरेको प्रमाणित भएमा सोही ऐनको दफा २० को खण्ड (ख) अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।
आयोगले आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, कार्यकर्ता तथा आम नागरिकलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न पुनः आग्रह गरेको छ।
प्रकाशित :- २०८२/११/१४ बिहिवार ४:२८ बिहान


