आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सजिलो अनलाइन एप्लिकेसन ले आफ्नो कार्यालय तथा सेवासम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ।
सजिलोले जारी गरेको प्रेस विज्ञप्ति अनुसार विशेष परिस्थितिका कारण कम्पनीको कार्यालय फागुन १६ गते शनिबारदेखि फागुन २३ गते शनिबारसम्म अस्थायी रूपमा बन्द रहनेछ। कार्यालय फागुन २४ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिइएको छ।
यस अवधिमा राइडर साथीहरूको सहयोग, सहकार्य र धैर्यताप्रति कृतज्ञता व्यक्त गर्दै सजिलोले सेवा शुल्क पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार यो निर्णय निर्वाचनका कारण उत्पन्न असहज परिस्थितिमा राइडर तथा प्रयोगकर्तालाई सहजीकरण गर्ने उद्देश्यले लिइएको हो।
त्यसैगरी, निर्वाचनको दिन फागुन २० र २१ गते सजिलो एप पूर्ण रूपमा बन्द रहने स्पष्ट पारिएको छ। ती दिनहरूमा एपमार्फत कुनै पनि सेवा उपलब्ध नहुने भएकाले प्रयोगकर्तालाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
सजिलोले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै उत्साहपूर्वक आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ।
राष्ट्रिय दायित्वप्रति प्रतिबद्ध रहँदै सजिलो सधैँ नेपालीहरूसँगै रहने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्ति टुंग्याइएको छ।

प्रकाशित :- २०८२/११/१४ बिहिवार ७:१६ बेलुका


