काठमाडौं ,फागुन १८
नेपाली काङ्ग्रेसका सभापति गगन थापा ले संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन्।
फेसबुकमार्फत सार्वजनिक गरिएको सन्देशमा सभापति थापाले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, सो क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन पुनः आग्रह गरेका छन्।
उनले द्वन्द्वग्रस्त तथा असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई थप तीव्र र प्रभावकारी बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
यसका साथै, यूएई क्षेत्रमा सक्रिय जनसम्पर्क समितिका प्रतिनिधिहरू, गैर आवासीय नेपाली सङ्घ (NRNA) तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीहरूको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका खेल्न हार्दिक अनुरोध गरेका छन्।
प्रकाशित :- २०८२/११/१८ सोमबार ४:५३ बिहान


