काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले संयुक्त अरब इमिरेट्स (United Arab Emirates) को अबुधाबीस्थित Zayed International Airport मा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको दुःखद मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले युएईका सम्बन्धित निकायबाट प्राप्त जानकारीका आधारमा उक्त घटनाबारे जानकारी पाएको जनाउँदै जारी प्रेस विज्ञप्तिमा घटनाप्रति स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ।
मन्त्रालयले सक्रिय द्वन्द्व तथा हिंसात्मक अवस्थाका बेला सर्वसाधारण नागरिकको सुरक्षा, संरक्षण र मानवीय मर्यादा सुनिश्चित गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय मानवीय कानुन तथा जिनेभा सन्धिहरूका प्रावधानहरू सधैं सम्मान र पालना हुनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकको पार्थिव शरीर स्वदेश फिर्ता ल्याउने प्रक्रियासहित आवश्यक सबै सम्भव सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ।
परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्दै कूटनीतिक माध्यमबाट आवश्यक पहल जारी रहने जनाएको छ।
प्रकाशित :- २०८/११/१८ सोमबार ३:५९ बिहान


