काठमाडौं उपत्यकामा विदेशी अनलाइन राइड–सेयरिङ एप्लिकेशनहरूको प्रभुत्व बढिरहेको बेला, नेपाली लगानीमा निर्माण गरिएको ‘छिटो’ अनलाइन ट्याक्सी बुकिङ एप यतिबेला चर्चाको केन्द्रमा पुगेको छ। स्वरोजगार ट्याक्सी चालक भिम बहादुर घिसिङले आफ्नै लगानीमा अघि बढाएको यो पहलले स्वदेशी प्रविधि र श्रमको संरक्षणतर्फ नयाँ आशा जगाएको देखिन्छ।
केही महिनाअघि नै सञ्चालनमा आउने तयारीमा रहेको ‘छिटो’ विभिन्न कारणले रोकिएको भए पनि अहिले भने अन्तिम चरणको तयारी तीव्र बनाइएको छ। एपका सञ्चालक घिसिङका अनुसार, अब केही समयमै यसको औपचारिक उद्घाटन गरिनेछ। हाल चालकहरूलाई आबद्ध गराउने, सडकस्तरमै परीक्षण गर्ने तथा ब्रान्डिङका कार्यहरू तीव्र गतिमा अघि बढाइएको छ।
विदेशी एपहरूले बजारमा पकड जमाइरहेका सन्दर्भमा ‘छिटो’ले कस्तो स्थान बनाउँछ भन्ने प्रश्न भने अझै खुला नै छ। तर, स्वदेशी लगानी र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर तयार पारिएको यस एपले प्रतिस्पर्धात्मक विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
घिसिङका अनुसार, ‘छिटो’ एपले हाल प्रचलित विदेशी एप्लिकेशनहरूबाट देखिएका चालक श्रम शोषणका समस्यालाई समाधान गर्ने लक्ष्य लिएको छ। साथै, चालकहरूले सरकारद्वारा तोकिएको मिटर अनुसारकै भाडा पाउने व्यवस्था सुनिश्चित गरिने उनको दाबी छ।
स्वदेशी प्रविधिको प्रवर्द्धन र ट्याक्सी चालकहरूको हकहित संरक्षण गर्ने उद्देश्यसहित ल्याइएको ‘छिटो’ एपले बजारमा कस्तो प्रभाव पार्छ, त्यो भने यसको औपचारिक सुरुवातपछि मात्र स्पष्ट हुने देखिन्छ।


प्रकाशित २०८२/१२/०७ सनिबार १;४७ दिउँसो


