काठमाडौं । जेन–जी अगुवा रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हालको राजनीतिक तथा सामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएकी छिन्। उनले देश राज्यविहीनताको जटिल अवस्थाबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीले नेतृत्व सम्हाल्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरेकी छिन्।
तर पछिल्लो समय सडक र सामाजिक सञ्जालमा आफूले दुर्व्यवहार तथा विभिन्न आरोपहरू सामना गर्नुपरेको उल्लेख गर्दै उनले ती विषयमा सरकारको स्पष्ट धारणा माग गरेकी छिन्। “हामीमाथि किन यस्तो व्यवहार भइरहेको छ? जनताले उठाएका प्रश्नहरूको जवाफ कसले दिने?” भन्दै उनले सरकारप्रति प्रश्न तेर्स्याएकी छिन्।
बमले विशेष गरी आन्दोलनसँग जोडिएका घटनाबारे सत्य सार्वजनिक गर्न माग गर्दै आफ्नो धारणा प्रस्ट पारेकी छिन्। उनले आफूविरुद्ध लगाइएका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै “मेरो हातमा रगत लागेको छ कि छैन, सिंहदरबार जलाइएको घटनामा मेरो संलग्नता छ कि छैन, यी सबै विषयमा स्पष्टता आवश्यक छ,” भनिन्।
उनले आन्दोलन एकाएक हिंसात्मक कसरी भयो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबार जलाउने कार्यमा कसको संलग्नता थियो भन्ने विषयमा समेत छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेकी छन्।
“पीडितहरूको आवाज चर्को हुन्छ, त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ,” भन्दै उनले न्यायका लागि प्रतीक्षारत नागरिकहरूको नजर अहिले सरकारतर्फ केन्द्रित रहेको उल्लेख गरेकी छन्।
उनले अन्त्यमा सत्यतथ्य सार्वजनिक गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै इतिहासले वर्तमान नेतृत्वलाई कसरी सम्झिने भन्ने निर्णय अहिलेको कदमले निर्धारण गर्ने बताएकी छन्।
प्रकाशित २०८२/१२/०७ सनिबार १२:५१ दिउँसो


