काठमाडौं — माननीय सांसद सुधन गुरुङ ले बुझाएको ज्ञापनपत्रपछि नेपाल वायुसेवा निगम भित्र देखिएको अनियमितता र भ्रष्टाचारका विषयमा औपचारिक छानबिन प्रक्रिया सुरु भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमभित्र जहाज खरिददेखि मर्मतसम्म भएका गतिविधिमा उठेका प्रश्नमाथि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको जनाएको छ। ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमाणका आधारमा वर्षौंदेखि थाँती रहेका फाइलहरू अब औपचारिक रूपमा खोलिने र छानबिन अघि बढाइने जनाइएको छ।
मन्त्रालयका अनुसार गठित समितिलाई ३० दिनभित्र आवश्यक प्रमाण संकलन, अध्ययन तथा विश्लेषण गरी विस्तृत प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। उक्त प्रतिवेदनका आधारमा दोषी देखिएकाहरूलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।
सांसद गुरुङले निगमलाई कमजोर बनाउने र आर्थिक अनियमिततामा संलग्न तत्वहरू अब उम्किन नदिइने उल्लेख गर्दै सुशासनका लागि खबरदारी निरन्तर जारी रहने बताएका छन्।
सरकारले राष्ट्रिय ध्वजाबाहक संस्थाको विश्वसनीयता पुनःस्थापना गर्न पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम अघि बढाउने संकेत गरेको छ।

प्रकाशित २२०८२/१२/०७ सनिबार २:१९ दिउँसो


