काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यसप्रति गम्भीर टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आयोग निष्पक्ष छानबिनका लागि नबनेको दाबी गरेका हुन्।
महासचिव पोखरेलले लेखेका छन्, “कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ।” उनका अनुसार कार्की आयोग र आम निर्वाचन ०८२ ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट देखिएको छ।
उनले निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन पनि सोही अनुरूप आएको उल्लेख गर्दै भनेका छन् कि, “निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ।”
पोखरेलका अनुसार अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट ‘नयाँ शक्ति’ को उदय भएको छ। उनले अबको राजनीतिक यात्रा सहज नहुने संकेत गर्दै राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौती सामना गर्नुपर्ने उल्लेख गरेका छन्।
यस्तो अवस्थामा उनले ‘नयाँ शक्ति’ र नेतृत्वलाई उनीहरूको दृष्टिकोण अनुसार काम गर्ने अवसर दिनुपर्ने र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्न दिनु उचित हुने धारणा व्यक्त गरेका छन्।
यद्यपि उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादलाई वर्तमान चुनौतीहरूको समाधानको मार्ग नभएको स्पष्ट पार्दै विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि नभएको बताएका छन्।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित कार्की आयोगको करिब १००० पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएपछि महासचिव पोखरेलले उक्त प्रतिक्रिया दिएका हुन्।
प्रकाशित २०८२/१२/१२ बिहिबार १२:१४ दिउँसो


