काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहिले नयाँ प्रधानमन्त्रीको आगमनसँगै देशमा भ्रष्टाचारविरुद्ध नयाँ आशा जागेको बताएका छन्। उनले आज (राम नवमी) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै, भ्रष्टाचारको विरुद्ध लड्ने आफ्नो संघर्ष सम्झँदै आगामी दिनमा निष्पक्ष छानबिन र दोषीको कारबाहीको अपेक्षा व्यक्त गरे।
ज्ञानेन्द्र शाहिले लेखेका छन्, “आज केवल राम नवमी मात्र होइन, नेपालका लागि नयाँ आशा बोकेको दिन पनि हो। आज एक युवा प्रधानमन्त्रीको आगमनसँगै देशमा परिवर्तनको आशा पलाएको छ।” उनले २०७६ साल जेठ १५ र असोज ११ गतेका दिनहरू सम्झँदै, भ्रष्टाचारको विरोधमा आवाज उठाउँदा आफूमाथि ज्यानै जानेगरी आक्रमण गरिएको घटनाहरूको पनि स्मरण गराए।
संसद सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म भ्रष्टाचारविरुद्ध संघर्ष गर्दा कार्यान्वयन हुन नसकेको औंल्याउँदै, उनले भाबी प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा अपराधीहरूलाई कारबाही हुने आशा व्यक्त गरे। ज्ञानेन्द्र शाहि ले विशेषगरी निम्न भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन र दोषीको जेल सजायको माग गरे:
- लाउडा जहाज भ्रष्टाचार
- वाइडबडी जहाज खरिद प्रकरण
- सुडान घोटाला
- लडाकु शिविर अनियमितता
- ललिता निवास जग्गा प्रकरण
- पतञ्जलि जग्गा प्रकरण
- गिरीबन्धु टी–इस्टेट
- टीकापुर जग्गा घोटाला
- लिची बगान जग्गा प्रकरण
- बालमन्दिर र बाँसबारी जग्गा प्रकरण
- नक्कली भुटानी शरणार्थी प्रकरण
- भिजिट भिसा प्रकरण
- ओम्नी औषधि खरिद प्रकरण
- नेपाल ट्रस्टको जग्गा प्रकरण
- ३३ किलो सुन तस्करी
- ६० किलो सुन तस्करी
- सहकारी ठगी
- सेक्युरिटी प्रेस खरिद (७० करोड)
- टेरामक्स प्रकरण
- अन्तःशुल्क स्टिकर प्रकरण
- मेलम्ची आयोजना
- Ncell प्रकरण
ज्ञानेन्द्र शाहि ले फेसबुक मा भनेका छन्, “सात वर्ष अघि सडकमा उत्रिएर यहिँ सपना बोकेर संघर्ष गरिरहेको म, आज भाबी प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा अपराधीहरूलाई कारबाही हुनेछ भन्ने आशा गर्दछु। प्रिय माननीय बालेन्द्र शाहज्यू, भगवान रामजस्तै सत्य र न्यायको मार्गमा हिँड्नुहोस्। सत्यका लागि १२ वर्ष वनवास बस्नुपरे पनि पछि नहट्नुहोस्। हामी तपाईंको साथमा छौं, तर कहिल्यै पनि अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्नुहोस्।”
उक्त फेसबुक पोस्ट रास्वपा नेतृत्वमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको सपथग्रहण कार्यक्रम अघि सार्वजनिक गरिएको हो। देशको ४०औं प्रधानमन्त्रीका रूपमा आज दिउँसो शीतल निवासमा बालेन्द्र शाहले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित २०८२/१२/१३ शुक्रबार १०:३३ बिहान


