काठमाडौँ ।
२०८२ चैत्र १९ गते बसेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको विकास र सुशासनका लागि आफ्नो दलले ‘सेकेन्ड-सेकेन्ड’को हिसाब राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
सम्बोधनका क्रममा लामिछानेले पुराना राजनीतिक शैली र ढिलासुस्तीलाई त्यागेर नतिजामुखी राजनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। “जनताले हामीलाई समय खेर फाल्ने छुट दिएका छैनन्,” उहाँले भन्नुभयो, “त्यसैले हामी अब दिन गनेर होइन, सेकेन्ड-सेकेन्डको हिसाब राखेर काम गर्न चाहन्छौँ।”
विपक्षीसँग सहकार्य र निगरानीको आह्वान
लामिछानेले संसदीय अभ्यासमा नयाँ संस्कारको प्रस्ताव गर्दै विपक्षी दलहरूका चुनावी एजेन्डाहरू देश हितमा भए त्यसको स्वामित्व लिन सरकार तयार रहने बताउनुभयो। प्रतिपक्षलाई रचनात्मक आलोचना र कडा निगरानीका लागि आग्रह गर्दै उहाँले भन्नुभयो, “हामी प्रतिपक्षको आवाजलाई कहिल्यै कमजोर हुन दिने छैनौँ। बरु प्रतिपक्षी दलहरूले सरकारका कामकारबाहीमाथि चौबिसै घण्टा निगरानी राखिदिनुहोला।”
सामाजिक न्याय र अधिकारका सवाल
लामिछानेले आफ्नो मन्तव्यमा महिला अधिकार र सामाजिक न्यायको विषयलाई समेत प्राथमिकताका साथ उठाउनुभयो। महिलाहरूलाई दिइने अवसर अब राज्यको ‘अनुग्रह’ वा ‘दया’ नभई उनीहरूको नैसर्गिक ‘अधिकार’ हुने कुरा उहाँले स्पष्ट पार्नुभयो। विगतमा भएका विभेद र अन्यायप्रति माफी माग्दै उहाँले अबको राजनीतिमा ‘प्रतिशोधको अध्याय’ दोहोरिन नदिने आश्वासन समेत दिनुभयो।
कूटनीति र गैरआवासीय नेपालीको मुद्दा
वैदेशिक रोजगारीमा रहेका नेपाली र कूटनीतिक मर्यादाका विषयमा बोल्दै लामिछानेले राजदूतहरूको कार्यशैलीमा आमूल परिवर्तन आउने दाबी गर्नुभयो। “हाम्रा राजदूतहरू अब बिचौलियाको डिनर टेबलमा होइन, श्रमिकहरूका शिविरमा भेटिनेछन्,” उहाँले भन्नुभयो। साथै, “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नारालाई सार्थक बनाउन गैरआवासीय नेपालीहरूसँग गरिएका वाचाहरू पूरा गर्ने संकल्प समेत उहाँले दोहोर्याउनुभयो।
उत्तरदायी संसद्को परिकल्पना
संसद्लाई केवल प्रश्न गर्ने थलो मात्र बनाउन नहुने भन्दै लामिछानेले आफूहरू उत्तर दिन समेत तयार भएर आएको बताउनुभयो। जनताका हरेक समस्याको समाधान खोज्न र राज्यलाई जवाफदेही बनाउन रास्वपाले संसद्मा सशक्त भूमिका खेल्ने उहाँको भनाइ थियो। उहाँले समग्र राजनीतिक दलहरूलाई अबको कार्यकालमा जनताले महसुस गर्ने गरी काम गर्न आह्वान समेत गर्नुभयो।
प्रकाशित :- २०८२/१२/१९ बिहीबार ५:०७ बेलुका


