स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। मिति २०८२ चैत १३ गते नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार मन्त्रालयले २०८३ वैशाख २ गतेसम्मको प्रगति सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई सहज उपचार पहुँच उपलब्ध गराउन ‘Free Health Portal’ सञ्चालनमा ल्याइएको छ। हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि उपलब्ध गराउने विवरण पोर्टलमा प्रविष्ट गरिसकेका छन्।
सरकारी अस्पतालको सेवा सुधार तथा अनुगमनका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरिएको मन्त्रालयले जनाएको छ। यस अन्तर्गत ३० वटा अस्पतालमा सरसफाइ, स्वास्थ्यकर्मीको उपस्थिति, सेवाग्राही गुनासो सुनुवाइ तथा कर्मचारी जिम्मेवारी सुनिश्चित गर्न फोकल पर्सन तोक्ने काम सुरु भएको छ।
जलनका बिरामीलाई प्रभावकारी उपचार सेवा विस्तार गर्न ९ वटा संघीय अस्पतालसहित सातै प्रदेशका १४ अस्पताल गरी कुल २३ अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा भएको जनाइएको छ। यस्तै दुर्गम तथा पहाडी क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स सेवा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएको छ। यसका लागि ११ वटा हेलिकप्टर कम्पनीले सहुलियत दरमा मेडिकल इभाकुएसन सेवा दिन सहमति जनाएका छन्।
मन्त्रालयले गुनासो व्यवस्थापनतर्फ पनि काम अघि बढाएको जनाएको छ। QR Code प्रणालीमार्फत प्राप्त ३,१२२ गुनासोमध्ये २,६७१ गुनासोको विश्लेषण गरी समाधानका लागि सम्बन्धित अस्पताल तथा निकायसँग समन्वय भइरहेको जानकारी दिएको छ।
यसैगरी सरकारी अस्पतालका फार्मेसीमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली तथा ‘सुलभ फार्मेसी’ सञ्चालन सुरु गरिएको छ। बिरामीको उपचार इतिहास र रिफरल प्रणालीलाई व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकासको काम अघि बढाइएको छ भने अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति रोक्न ‘प्रेषण निर्देशिका २०८२’ अनुसार अस्पतालहरूले आफ्नै प्रोटोकल बनाएर कार्यान्वयन थालेका छन्।
प्रकाशित २०८३/०१/०२ बुधबार ५:४८ बेलुका


