काठमाडौं, वैशाख १२ — काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कडाइका क्रममा हिजो शुक्रबार मात्र विभिन्न कारबाहीबाट २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीका अनुसार २४ घण्टाको अवधिमा कुल २ हजार ९०३ चालक तथा सवारी साधन कारबाहीमा परेका हुन्।
विशेषगरी पछिल्लो समय बढ्दो अव्यवस्थित राइड सेयरिङ सेवामाथि निगरानी बढाउँदै २८१ वटा सवारी कारबाहीमा परेका छन् भने सार्वजनिक आवागमनमा अवरोध पुर्याउने सडक तथा फुटपाथ अतिक्रमणसम्बन्धी १६९ वटा कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२७, रेड लाइट उल्लंघन गर्ने २००, तीव्र गतिमा सवारी चलाउने १७६, लेन अनुशासन उल्लंघन गर्ने ३१२, नो हर्न नियम तोड्ने ६५, पिकअप तथा ड्रप क्षेत्रमा अव्यवस्था गर्ने ७४, तथा अन्य विभिन्न कसुरमा १ हजार ४९९ सवारी चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिँदै विशेष निगरानी अभियानलाई निरन्तरता दिइने जनाएको छ।
उपत्यकामा पछिल्लो समय राइड सेयरिङ, फुटपाथ अतिक्रमण तथा लेन मिच्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी थप कडा बनाएको हो।

प्रकाशित २०८३/०१/१२ सनिबार १२:५४ दिउँसो


