आफूलाई स्वागत गर्न नआएको भन्दै विद्यालयका प्राध्यापकलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि विश्वराज पोखरेल ले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्।
उनले वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका वडा नं. २ रगनीस्थित थी चण्डेश्वरी माध्यमिक विद्यालय पुगेको क्रममा भएको घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो पूर्ण सन्दर्भबिनाको कटछाँट गरिएको अंश मात्र भएको बताएका छन्।
पोखरेलले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै यदि आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गरेका छन्।
विज्ञप्तिमा उनले आफू जनताको सेवाका लागि राजनीतिमा आएको व्यक्ति भएको उल्लेख गर्दै भविष्यमा अझ संयमित, जिम्मेवार, संवादमुखी र मर्यादित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस घटनाबाट पार्टी, शुभेच्छुक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम जनसमुदायमा ठेस पुगेको भन्दै उनले विनम्रतापूर्वक क्षमा समेत मागेका छन्।

प्रकाशित २०८३/०१/१२ सनिबार ३:२६ दिउँसो


